Body: 

आश्रममा सनातन धर्म, संस्कृति र परम्पराअनुसार शास्त्रीय विधानको अनुशीलन गरी विश्वशान्तिको उद्देश्यले शिवपाञ्चायन देवताको  दैनिक विशेष पूजा आराधना गरिन्छ । १०८ बटुकहरूद्वारा प्रातः कालमा प्रतिदिन रुद्राभिषेक हुन्छ । यसका साथै गुरुकुलका बटुकहरूबाट यज्ञशालामा नित्य हवन यज्ञ सञ्चालन गरिन्छ । साथमा प्रतिदिन रुद्राष्टाध्यायी, शिवमहिम्नः स्तोत्र, श्रीमद्भगवद्गीता, दुर्गासप्तशती, विष्णुसहस्रनामस्तोत्रको सामूहिक पाठ हुन्छ भने आश्रमका सम्पूर्ण पदाधिकारी, आचार्य, छात्र र आगन्तुक भक्तहरूको विशेष उपस्थितिमा बिहान र बेलुका भगवान् विद्येश्वरको दिव्य आरती सञ्चालन हुन्छ । आश्रमसँग आबद्ध श्रद्धालुहरूको मनोकामना अनुसार विशेष पूजा एवं अनुष्ठानहरू समेत हुने गर्दछन् । पर्वविशेषमा तत् तत् देवता र पर्वको वैशिष्ट्यअनुरूपको विधि र सामग्री तयार गरी अनुष्ठानहरू सञ्चालन गरिन्छन् । विशेषतः सर्वजनहितायको भावनाले गुरुकुलका ब्रह्मचारी बटुकहरूद्वारा आश्रमको मर्यादा र शास्त्रीय विधि पालना गर्दै प्रतिदिन यज्ञ, अनुष्ठान र देवपूजन निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।