परिचय

  • Posted on: 11 December 2019
  • By: msgurukul
Body: 
राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म र आर्य संस्कृतिको संरक्षण संवर्धन एवं संस्कृत शिक्षाको आवश्यकतालाई हृदयङ्गम गर्दै संस्कृत वाङ्मय अन्तर्गत ज्ञानविज्ञानहरुको प्रचारप्रसार गर्ने मूल उद्देश्यका साथ देवघाटधाममा एक शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुलको (MAHESH SANSKRIT GURUKUL) स्थापना गरिएको हो ।

महेश संन्यास आश्रमको उद्देश्य अनुरूप आश्रमका संस्थापक अध्यक्ष पौरस्त्य वाङ्मयका प्रखर विद्वान् श्री १००८ डा.स्वामी रामानन्द गिरिजी महाराजको शिवसङ्कल्पद्वारा वि.सं.२०५० सालबाट शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुलको (MAHESH SANSKRIT GURUKUL) स्थापना र सञ्चालन भएको हो । संस्थापक स्वामीज्यूको संस्कृत शिक्षाप्रतिको विशेष अनुरागबाट संस्थापित यस गुरुकुललाई नेपाल सरकारको प्रचलित शिक्षा ऐन तथा नियमावली अनुसार संस्थागत निजी शैक्षिक गुठीको रूपमा संबद्ध सरकारी निकायमा दर्ता गरी नियमित सञ्चालन गरिँदै आएको छ । महेश संन्यास आश्रमअन्तर्गत सञ्चालित यस गुरुकुलमा प्राचीन गुरुकुलको मर्यादालाई अनुसरण गर्दै वेद वेदांग लगायत पौरस्त्य वाङ्मयको शिक्षा दिने व्यवस्था गरिएको छ । जस अन्तर्गत आधारभूत तहदेखि स्नातकोत्तर र विद्यावारिधि तहसम्मको औपचारिक अध्ययन-अध्यापनको व्यवस्था एकै प्राङ्गणबाट उपलब्ध हुँदै आएको छ । कक्षा ६ बाट प्रारम्भ हुने गुरुकुलीय शिक्षाको आधारभूत तह नेपाल सरकारद्वारा निर्धारत गुरुकुलीय पाठ्यक्रममा आधारित भएर सञ्चालित छ  भने उच्च तहमा नेपाल संस्कृत विश्वविद्यालयको पाठ्यक्रमअनुसारको अध्ययन-अध्यापन सञ्चालन गरिन्छ । यस संस्थाले वि.सं. २०७५ साललाई यस गुरुकुल-आश्रम स्थापनाको पच्चीसवर्षे गौरवमय रजतवर्षका रूपमा विविध कार्यक्रमका साथमा मनाइसकेको छ भने वर्तमानमा योजनाबद्ध स्वर्णिम यात्राको गन्तव्यमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । हाल देशका सुगमदेखि दुर्गमसम्मका ५४ भन्दा धेरै जिल्लाका मेधावी ३०० छात्रहरूले आवासीय सुविधासहितको निःशुल्क पूर्ण शिक्षा प्राप्त गरिरहेका छन् । गुरुकुलबाट उत्पादित जनशक्ति देशका प्राज्ञिक, शैक्षिक, प्रशासनिक, धार्मिक एवं शान्ति-सुरक्षाका महत्त्वपूर्ण पद र प्रतिष्ठाहरूमा रहेर राष्ट्र र समाजको सेवामा समर्पित भइरहेको छ भने  विश्वपरिवेशमा आएको संस्कार र संस्कृतप्रतिको जनलहरलाई गुरुकुलबाट उत्पादित दक्ष जनशक्तिले मार्गनिर्देश गर्ने कुरामा गुरुकुल आश्वस्त छ ।