Body: 

भावी योजना

वर्तमानमा यस गुरुकुलमा आधारभूत तहदेखि आचार्यतहसम्मको औपचारिक अध्यापन भइरहेको छ । माध्यमिक तहसम्म नेपाल सरकारद्वारा स्वीकृत गुरुकुलीय पाठ्यक्रमका सम्पूर्ण विषयको अध्ययन एवं अध्यापन गराइन्छ । विद्यापीठ तहमा नेपाल संस्कृत विश्वविद्यालयद्वारा निर्धारित पाठ्यक्रममा आधारित रहेर संस्कृत एवं नेपाली विषयको अध्यापन भइरहेको छ । हालसम्म स्नातक एवं स्नातकोत्तर तहका लागि शाङ्करवेदान्त, व्याकरण र साहित्य विषय अध्यापनको अनुमति प्राप्त भएकोमा निकट भविष्यमा  मीमांसा, न्याय, ज्योतिष, ज्योतिष, योग, आयुर्वेद लगायतका शास्त्रीय विषयको अध्ययनको व्यवस्था गर्नुपर्ने भएको छ । साथै हालसम्म २५० जना छात्रलाई आवासीय सुविधासहितको निःशुल्क पूर्ण शिक्षा प्राप्त गर्ने व्यवस्था रहेकोमा अग्रिम वर्षहरूमा क्रमिक रूपमा आवासीय क्षमताको अभिवृद्धि गर्दै  गुरुकुललाई विराट् स्वरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका अतिरिक्त पौरस्त्य वाङ्मयका दुर्लभ र महत्त्वपूर्ण ग्रन्थहरूको सङ्कलन, सम्पादन, अनुवाद एवं प्रकाशनका निम्ति सुविधासम्पन्न अनुसन्धान केन्द्र (RRC) र मुद्रणालयको स्थापना अपरिहार्य बन्दै गएको छ । देशका विभिन्न स्थानमा गुरुकुलको शाखा-विस्तार एवं स्थापित गुरुकुलहरूसँग सहकार्य गरी संस्कृत शिक्षाको अध्ययन एवं अध्यापनलाई विस्तार गरेर संस्कार र संस्कृत शिक्षाको प्रवर्धनमा गुरुकुलले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।

निकट भविष्यका निम्ति निर्धारित योजना

  • संस्कृत वाङ्मयको आधिकारिक अध्ययनकेन्द्रका रूपमा गुरुकुललाई प्रवर्धन गर्ने ।
  • स्नातक र स्नातकोत्तर तहमा शास्त्रीय विषयहरुको अध्ययन विस्तार गर्ने । 
  • संस्कृत र नेपाली भाषाका दुर्लभ ग्रन्थहरूको सङ्कलन एवं व्यवस्थापन गर्ने ।
  • छात्रहरूलाई प्राविधिक विषयका साथै ६४ कलामा दक्ष बनाउन विशेष प्रशिक्षण गर्ने।
  • अनुसन्धान केन्द्रको स्थापना गरी पौरस्त्य वाङ्मयका महत्त्वपूर्ण विषयको अनुसन्धान गर्ने गराउने ।
  • अनुसन्धानात्मक ग्रन्थ तथा पत्रपत्रिका प्रकाशनलाई निरन्तरता दिने ।